प्रवासी नेपाली मञ्चले भन्यो- कञ्चनपुर गोलीकाण्ड निन्दनीय

221

सिड्नी । कञ्चनपुरमा भारतीय सुरक्षाकर्मीले नेपाली नागरिक गोविन्द गौतमको हत्या गरेको भन्दै प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले विरोध गरेको छ । मञ्चले सीमा सम्बन्धी समस्या दीर्घकालीन रुपमा समाधान गर्न नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएको छ ।

 

मञ्चका प्रचार विभाग प्रमुख रमेश पौडेलले विज्ञप्ति निकालेर नेपालको सार्वभौमिकता र स्वतन्त्रतामा आँच आउने गरी सार्वभौम मुलुकका नागरिकमाथि गोली प्रहार गर्ने भारतीय हर्कतको निन्दा र भ्रत्सना गरेका छन् ।

विज्ञप्तिमा लेखिएको छ, ‘एसएसबीको गोली प्रहारबाट स्थानीय बासिन्दा गोविन्द गौतमको निधन भएको घटनाबाट हामी स्तब्ध भएका छौं । कल्भर्टका विषयमा भएको पूर्वसहमति उल्लंघन गर्दै भारतीय पक्षबाट नेपालको सीमामा पस्ने र नेपाली नागरिकमाथि गोली प्रहार गर्ने निन्दनीय काम भएको छ ।’

मञ्चले मृतक गौतमप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना र घाइतेहरुको उपचारको प्रवन्ध गर्न नेपाल सरकारसँग माग पनि गरेको छ ।

SHARE

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here